रसुवा जिल्लाको बारेमा...
रसुवा नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत बागमती अञ्चलको उत्तरी भेगमा अवस्थित एक विकट हिमाली जिल्ला हो। मित्रराष्ट्र चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको यो जिल्ला नेपालको हिमाली प्रदेशका १६ वटा जिल्लाहरूमध्ये क्षेत्रफलको आधारमा सबैभन्दा सानो जिल्ला हो। पूर्वमा सिन्धुपाल्चोक दक्षिणमा नुवाकोट पश्चिममा धादिङ जिल्लासँग भौगोलिक सिमाना जोडिएको यस जिल्लाको उत्तरतर्फ चीनको स्वशासित क्षेत्र तिव्वत रहेको छ। आन्तरिक सिमाना छुट्याउने कार्यमा नदी खोलानाला पहाड र बाटोहरू तथा अन्तर्राष्ट्रिय सिमाना छुट्याउने कार्यमा हिमाली चुचुराहरूको उपस्थिति रहेको छ। मध्यमाञ्चल विकास क्षेत्रको सबैभन्दा कम जनसंख्या र जनघनत्व भएको यस जिल्लामा उच्च हिमाली चुचुराहरू पहाडीक्षेत्रको पठार तथा समथर बेसी र टारहरू लगायतका विविध भौगोलिक विशेषताहरू पाउन सकिन्छ। हिन्दुहरूको पवित्र तिर्थस्थल गोसाइँकुण्ड र यस कुण्डलाई उद्गमस्थल बनाई प्रवाहित त्रिशुली नदीले जिल्लाको वैभव कायम गर्नमा महत्वपूर्ण भूमिका निभाएका छन्। प्रशासनिक आधारमा एक संसदीय निर्वाचन क्षेत्र ९ वटा इलाका १८ वटा गाउँ विकास समितिहरू र १६२ वडाहरूमा विभाजन गरिएको यस जिल्लाको सदरमुकाम धुन्चे हो। यस जिल्लाको भौगोलिक वनावट, हावापानी, वनजङ्गलको विविधता, नदीनाला र कुण्ड विभिन्न जातिहरूको बसोबास, रहनसहन, भेषभुषा आदिको विविधता रहेकोले यस जिल्लाले आफ्नै ऐतिहासिक महत्व बोकेको छ।